सामूहिक व्यवसायले दियो गृहिणीलाई हिम्मत

सामूहिक व्यवसायले दियो गृहिणीलाई हिम्मत

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

मुनापु (सिन्धुली) : घरको चुलाचौकामा सीमित फिक्कल गाउँपालिका ३ मनापु सिन्धुलीका महिलाहरूले गाउँमै ढाका उद्योग स्थापना गरी मनग्य आम्दानी गर्न थालेका छन्।

खेतीपाती र अन्य व्यवसायभन्दा थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिने भएपछि मनापुका स्थानीय ११ जना गृहिणी महिलाले सामूहिक रुपमा ढाका उद्योग स्थापना गरेका हुन्।

फिक्कल गाउँपालिका ३ मनापुको वडा कार्यालयले महिलाहरूलाई लक्षित गर्दै सीप विकास तथा आयआर्जनका लागि गाउँमै ढाका बुनाइ सम्बन्धि तालिम दिएपछि उत्साही महिलाहरूले उद्योग स्थापना गरेका हुन्।

ढाका उद्योगबाट महिनामा एक लाखदेखि १ लाख ५० हजार रुपैयाँसम्म ढाकाका कपडा उत्पादन गरी विक्री गरेको सामूहिक ढाका बुन्दै आएकी मनापुकी मनमाया रजन मगरले बताइन्। उनले भनिन्, ‘ढाकाको चौबन्दी, रुमाल, टोपी, पछ्यौरी, गलबन्दी तथा कुर्था सलवार लगायतका कपडा उत्पादन गरी बिक्री गर्ने गरेका छौं। सबैले एउटै उद्योगमा काम गर्छौं। राम्रो उत्पादन गर्दा मूल्य पनि राम्रै पाएका छौं।’

घरमा बिहान बेलुकाको काम सकेर दिउसो मात्र गर्दै आएको ढाका उद्योगको कामले एकजनालाई महिनामा १० देखि १५ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको मगरको भनाई छ।

‘उद्योगमा सबैले लगानी गर्छौं। भएको आम्दानी पनि बाँढेर लिन्छौं। दुईचार पैसा कमाउन अर्काको बनीबुतो नै गर्नुपर्छ भन्ने छैन’, ढाका उद्योगकी अर्की सञ्चालक मिना गौतमले भनिन्, ‘अब गाउँघरमै बसेर घरखर्च चलाउन सकिने रहेछ भन्ने उद्योग स्थापना पछि थाहा पाएका छौं।’  

सीप उपयोग गर्दा मालिक हुन पाएको भन्दै गौतमले खुसी व्यक्त गरिन्। ‘घरमा दुईचार पैसा चाहिए पनि कि त श्रीमानको मुख ताक्नुपर्ने कि अर्काकोमा मजबुरी गर्न जानुपर्थ्यो। अहिले आफ्नै उद्योग छ, आफैं मालिक भएका छौं। सीपसँगै आम्दानी पनि राम्रो भएको छ।’

ढाकाको कमाईबाटै छोराछोरीको पढाइ खर्च र घरको आर्थिक गर्जो टार्न सक्दा आत्मसन्तुष्टि समेत भएको गौतमले बताइन्।

उद्योगलाई व्यवस्थित गर्दै गाउँका सबै महिलालाई सीप सिकाएर मनापुमा उत्पादन भएको ढाकालाई देशका सबै बजारमा पुर्‍याउने लक्ष्य राखिएको छ।

विपन्न वर्गका मानिसको बाहुल्य रहेको मनापुमा वडा कार्यालयले दिएको सीपलाई व्यावसायिक प्रयोगमा ल्याएर स्थानीय दिदीबहिनीहरूलाई आत्मनिर्भर हुन सिकाएको वडाध्यक्ष टेकबहादुर मगरले सुनाए।

सामूहिक ढाका उद्योगमा अन्य महिलालाई पनि रोजगारी दिने गरी आगामी दिनमा तालिम र सामग्रीहरू सहयोग गर्ने योजना बनाएको मगरको भनाइ छ।

Sources :- annapurnapost

Leave a Reply