बाबुरामले भने : कम्युनिष्ट सरकारमा भ्रष्टाचार मौलाउनु लज्जास्पद

बाबुरामले भने : कम्युनिष्ट सरकारमा भ्रष्टाचार मौलाउनु लज्जास्पद

  • Post author:
  • Post category:देश
  • Post comments:0 Comments

बागलुङ : नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दुईतिहाइको कम्युनिष्ट सरकार हुँदा भ्रष्टाचार मौलाएको बताएका छन् । उनले तत्कालिन नेकपा माओवादी र एमाले मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारका पालामा ठुला भ्रष्टाचार प्रकरण हुनु लज्जास्पद भएको बताए । 

मध्यपहाडी लोकमार्गमा असल राजनीति र समावेशी विकासका लागि ‘जनसंवाद यात्रा’ को क्रममा बागलुङको गलकोट आएका डा.भट्टराईले गल्कोट उद्योग वाणिज्य संघले आइतवार गरेको अन्तरक्रिया कार्यक्रममा दुईतिहाइको सरकार १९ किलो सुन काण्ड, एनसेल, वाइड बडी र निर्मला प्रकरणले बदनामी भएको जिकिर गरे । 

अख्तियार जस्तो संस्थामा लाखौँ घुस लेनदेनको घटनाले भ्रष्टाचार संस्थागत हुँदै गएको देखिएको बताउँदै उनले यी सबै संस्थाको पनि पुनर्संरचना जरुरी भएको बताए । 

चौतर्फी भ्रष्टाचार भएको भन्दै भट्टराईले देशको भ्रष्टाचार रोक्न अब लोकपालको व्यवस्था हुनुपर्ने आवश्यकता औल्याए । उनले राजनीतिक उपलव्धी लिन कांग्रेस, एमाले, माओवादी लगायतले पालैपालो संघर्ष गरेको भन्दै भट्टराईले अबको समय आर्थिक विकासको भएको बताए । 

एकीकृत योजना जरुरी

देशको आर्थिक विकासका लागि पुर्वाधार निर्माणमा बजेट छरेर मात्रै विकास नहुने भन्दै एकीकृत योजना जरुरी भएको धारणा राखे । अबको पाँच बर्षमा गरिबी अन्त्य गर्ने, १५ वर्षमा मध्यम स्तरमा पुग्ने र २५ बर्षमा विश्वकै धनी देशको रुपमा बिकास गर्ने आफनो पार्टीको लक्ष्य रहेको डा.भट्टराईले बताए । 

उनले मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोरले जिल्ला र समग्र मुलुकको समृद्धिको मार्ग प्रशस्त गरेकाले अब यसको अधिकतम उपयोगिता र सम्भावनालाई आत्मसाथ गर्नुपर्नेमा जोड दिए ।  

मध्यपहाडी लोकमार्गको अहिलेको जनसंवाद यात्रा बैतडीको झुलाघाट पुगेर सके पछि लोकमार्गको अवस्था, विकास, सम्भावना र चुनौति सहितको प्रतिवेदन संसदमा पेश गर्ने भट्टराईले जानकारी दिए । 

जनसंवादका क्रममा गलकोटमा आयोजित कार्यक्रममा डा. भट्टराई । तस्बिर : दिल शिरिश

annapurnapost

Leave a Reply